श्री शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. “समृद्धिका लागि सहकार्य” भन्ने मूल नाराका साथ समाजमा छरिएर रहेका स–साना पूँजीलाई एकीकृत गरी पूँजी निर्माण गर्न र उद्यमशीलता तथा स्वरोजगारको विकास गरी अन्ततः सदस्यहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र व्यक्तिगत क्षमताको विकासका लागि विशेषतः २८२ जना सदस्यहरूको विशेष सक्रियता र पहलबाट मिति २०७०/०३/०३ गतेका दिन तत्कालीन सहकारी ऐन २०४८ तथा सहकारी नियमावली २०४९ अनुसार विधिवत रूपमा डिभिजन सहकारी कार्यालय स्याङ्जामा दर्ता भएको बचत तथा ऋण सहकारी संस्था हो।
यस संस्था स्याङ्जा जिल्लाको मध्यभागमा अवस्थित ऐतिहासिक ठाउँ भीरकोट न.पा. वडा नं. १ अन्तर्गत सिद्धार्थ राजमार्गको मेन रोडस्थित बयरघारी बजारको केन्द्रबिन्दुमा अवस्थित छ। यस सहकारी संस्थाले आफ्नो कारोबार कार्यालय खोली औपचारिक रूपमा विधिवत रूपमा वि.सं. २०७०/०५/२६ गतेबाट सुरुवात गरेको हो।
यस सहकारी संस्थाका विभिन्न लक्ष्य र उद्देश्यहरू रहेका छन्। हाल यस संस्थामा ९ सदस्यीय सञ्चालक समिति, ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति तथा अन्यमा सल्लाहकार समिति, ऋण उपसमिति, शिक्षा उपसमिति, महिला परिचालन उपसमिति, लघुवित्त व्यवस्थापन उपसमिति र अनुगमन उपसमिति लगायत विभिन्न उपसमितिहरू रहेका छन् भने ९ जना कर्मचारीहरू कार्यरत रहेका छन्।
मिति २०८२ साल असार मसान्तको तथ्यांक अनुसार शेयर सदस्यहरू २०६८ जना पुगेका छन्। कार्यक्षेत्र स्याङ्जा जिल्लाभर रहेको यस संस्थाले आफ्नो दैनिक क्रियाकलापहरू सुव्यवस्थित र पूर्ण पारदर्शिताका साथ विधिवत रूपमा सहकारी मूल्य, मान्यता र सिद्धान्तहरूलाई शिरोपर गरी सदस्यहरू र समुदायप्रति केन्द्रित भई पूर्ण जिम्मेवार र बफादार रही सञ्चालनमा रहेको छ।
यस सहकारी संस्थाले सदस्यहरूबाट शेयर संकलन, बचत जम्मा र ऋण प्रवाहका साथै विप्रेषण (रेमिट) कार्य गर्दै आएको छ। दरिलो जगेडा कोष भएको यस सहकारी संस्थाबाट सरल तथा सस्तोमा ऋण प्राप्ति, बचतमा उच्चतम प्रतिफल र वार्षिक कारोबारमा बोनस प्राप्ति हुने सुनिश्चितता, सदस्यहरूलाई वार्षिक भ्रमणको व्यवस्था र शेयर लाभांशमा उच्चतम प्रतिफल आदि यी विशेषताले संस्थाप्रति सदस्यहरूको सन्तुष्टि र समुदायमा आम नागरिकहरूमा संस्थाप्रति आकर्षण बढाएको पाइन्छ।
यस संस्थाले महिला सदस्यहरूको समूह बनाई महिलाहरूको सशक्तीकरण र उद्यमशीलताको विकास गर्नका लागि विगत १० वर्षदेखि गाउँ–गाउँमा सहकारी मोडेलको लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको छ। भीरकोटमा गाईपालन र दूध उत्पादनमा जग बसाली सदस्यहरूलाई आत्मनिर्भर बनाउन विशेष योगदान गरेको यस सहकारी संस्थाले नाफालाई भन्दा सदस्यहरूको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नयन गर्ने लक्ष्यका साथ सदस्यहरूको सेवालाई प्रधान जोड दिँदै काम गर्दै आइरहेको छ।
सामाजिक उत्तरदायित्व अन्तर्गत यस संस्थाले भीरकोटस्थित विभिन्न क्लबहरूले विभिन्न समयमा आयोजना गर्ने खेलकुद प्रतियोगिता, तीजगीत प्रतियोगिता, विभिन्न समुदायले निर्माण गरेको सामुदायिक भवन निर्माण, स्वास्थ्य शिविर, बजार सरसफाइ अभियान, स्वच्छ र समृद्ध भीरकोट अभियान, रक्तदान कार्यक्रम, वृक्षारोपण कार्यक्रम जस्ता गतिविधिहरूमा प्रत्यक्ष–परोक्ष आर्थिक तथा विभिन्न किसिमका सहयोगहरू गर्दै आएको छ।
साथै सदस्यहरूलाई वित्तीय सेवा बाहेक मौसम अनुसार विभिन्न बिउबिजनहरूको निःशुल्क वितरण, कृषक सदस्यहरूलाई विभिन्न तालिम र भ्रमणको व्यवस्था, विपन्न सदस्यहरूलाई आपतकालीन समयमा संस्थागत आर्थिक सहयोग, सदस्यहरूको दुःखमा समवेदनाका लागि संस्थागत प्रतिनिधित्व गर्दै आएको छ।